नवलपरासी : नवलपरासीका. केरा उत्पादक किसानहरु आन्दोलित भएका छन् । नवलपरासी केरा उत्पादक संघले विज्ञप्ती जारी गर्दै सोमबार देखी आन्दोलनमा उत्रने जनाएका छन् ।
हाल किसानहरुले उत्पादन गरेको केराले बजार माग धान्न सक्ने अवस्था हुँदा हुँदै भारतबाट केरा आयात गरिएको प्रति आपत्ति जनाउँदै आएका छन् । नवलपरासीमा किसानले उत्पादन गरेको केराले बजार नपाउँदा खेतमै कुहिएर खेर जाने अवस्था रहेको छ ।
ब्यापारीहरुले किसानको लागत भन्दा पनि कम मुल्य दिएपछि विक्रि भए पनि लागत समेत नउठ्ने चिन्तामा किसानहरु रहेका छन् ।
केरा किसानका समस्यालाई लिएर पटक पटक आवाज उठाएपनि कहि कतैबाट सुनुवाई नहुँदा किसानहरु आन्दोलित हुने अवस्थामा पुगेका हुन् ।
केरा उत्पादक संघ नवलपरासीले गत भदौ १८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी र जिल्ला समन्वय समितिको कार्यालय संगै सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएर समस्याको निकास खोजीदिन आग्रह गरेका थिए ।
किसानका समस्या प्रति राज्यका निकायहरु उदासिन हुँदा चाडबाडकै मुखमा केरा बोटमै पाकेर खेर जाने अवस्था आएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खुयादवको भनाई छ ।
संघले आइतबार जारी गरेको विज्ञप्तीमा असोज ६ गते (भोली) देखी चरणबद्ध रुपमा आन्दोलनमा उत्रीने उल्लेख छ । सोमबार देखी जिल्लाको कुनैपनि स्थानमा जुनसुकै बेला भारतिय केरा बोकी आएको भारतिय नम्बर प्लेटको गाडिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख छ । आन्दोलनबाट हुने क्षतिको जिम्मा नेपाल सरकारले लिनुपर्ने उल्लेख छ ।
संघले आफुहरुको आन्दोलनमा साथ दिन राजनैतिक दल, नेपाल पत्रकार महासंघ, नागरिक समाज लगायतलाई एक्यबद्धता समर्थनका लागि समेत अपिल गरिएको अध्यक्ष लख्खु यादव द्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
दर्जनको ३० रुपैयाँ भन्दा कम रेटमा विक्री गर्दा किसानको लागत नै नउठ्ने भए पनि अहिले किसानहरुले १० रुपैयाँ देखी १८ रुपैयाँमा विक्रि गरिरहेका छन् ।
भारतिय केरा बजारमा प्रति दर्जन १ सय देखी १५० सम्ममा विक्रि भैरहेको छ ।
प्रतिक्रिया