रुपन्देही: उद्योग ब्यापार सङ्घ बर्दघाट र बुटवल बिच परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलबार उद्योग ब्यापार सङ्घ बुटवलको कार्यालयमा दुई संस्थाका पदाधिकारी र कार्यसमिति सदस्यहरू बिचमा परिचयात्मक तथा भेटघाट कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल उद्योग ब्यापार महासङ्घका केन्द्रिय महासचिव खिमनारायण पराजुलीले व्यवसयीक सङ्गठनका नाममा केही सीमित घरानाले लाभ लिनेगरी काम गर्ने प्रवृत्तिका विरुद्ध साना तथा मझौला उद्योगी व्यवसायीहरूको पक्षमा काम गर्ने गरी नेपाल उद्योग ब्यापार महासङ्घको स्थापना भएको बताउनुभएको थियो ।
उहाँले नियमसङ्गत रुपमा उद्योग व्यवसाय सञ्चालन गरिरहेको उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने प्रवृत्तिका विरुद्ध महासङ्घ निरन्तर लडाइमा रहेको बताउँदै व्यवसयीक हक हितका लागि फरक ढङ्गले काम गर्न जिल्ला तथा स्थानीय तहमा रहेका संघ हरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग ब्यापार सङ्घ बुटवलका अध्यक्ष विष्णु पाण्डेले औद्योगिक तथा व्यवसायीक विकासका लागि मिलेर काम गर्न आवश्यक रहेको बताउनुभएको थियो । पाण्डेले उद्योग ब्यापार सङ्घ बर्दघाट स्थापनाको छोटो समयमा सामाजिक रुपमा अनुकरणीय कार्य गर्न सफल भएको बताउँदै उद्योगी व्यवसायीको भावना र मर्मलाई बुझेर फरक तरिकाले काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
उद्योग ब्यापार सङ्घ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले उद्योगी व्यवसायीहरूको व्यवसयीक सुरक्षा र विकासका लागि सङ्घले प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको थियो । न्यौपानेले संस्था स्थापना सँगै पहिला सामाजिक काम गर्नुपर्छ भन्ने लागेर अग्नि नियन्त्रण अभियान अन्तरगत सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने गरी अग्नि नियन्त्रक यन्त्र राख्ने अभियान चलाएको र अहिले उद्योगी व्यवसायीको हितका लागि अन्तर संस्था समझदारी कायम गर्ने अभियान चलाएको बताउनुभयो । न्यानो आतिथ्यताको लागि उद्योग ब्यापार सङ्घ बुटवल परिवार प्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्यमा काम गर्ने न्यौपानेको भनाई रहेको थियो । कार्यक्रमको सञ्चालन उद्योग ब्यापार सङ्घ बुटवलका महासचिव यमलाल मरासिनीले गर्नुभएको थियो ।
प्रतिक्रिया