नवलपरासी: उद्योग ब्यापार सङ्घ बर्दघाट र देवदह मेडिकल कलेज एण्ड इन्स्टिच्युट प्रा. लि. बिचमा दुईपक्षीय आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उद्योग ब्यापार सङ्घ बर्दघाटका कार्यसमिति, कर्मचारी र सङ्घमा आबद्ध भएका उद्योगी व्यवसायी सदस्यहरूलाई अस्पतालमा उपचार गर्दा विभिन्न क्षेत्रमा छुट सुविधा हुने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको सङ्घका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
मङ्गलबार सङ्घको प्रतिनिधि टोली र मेडिकल कलेजका कार्यकारिणी समिति अध्यक्ष गोपाल बहादुर पोखरेल सहितको प्रतिनिधि टोली बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
हस्ताक्षर पछि बोल्दै पोखरेलले उद्योग ब्यापार सङ्घमा आबद्ध सदस्यहरू सबैले छुट सुविधा प्रयोग गर्न सक्ने बताउनुभयो । उहाँले अस्पतालमा उपलब्ध सबै सेवाहरूमा न्यूनतम १० प्रतिशत देखी ५० प्रतिशत सम्म छुट सुविधा प्राप्त गर्न सक्ने बताउँदै सङ्घ सँग सहकार्यमा समुदायमा आधारित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।
समझदारी पत्रमा हस्ताक्षर भए सँगै छुट सुविधा लागु भैसकेको छ । हाल ओपिडी टिकट निशुल्क रहे पनि भविष्यमा शुल्क कायम हुँदा ५० प्रतिशत छुट हुने उल्लेख छ । साधारण बेड चार्जमा २५ प्रतिशत, आईसीयू, एनाइसियु, पिआइसियु, सिसियु मा १० प्रतिशत छुट, शल्यक्रिया उपचार शुल्कमा १५ प्रतिशत, प्याथोलोजी ल्याब शुल्कमा १५ प्रतिशत, रेडियोलोजी सेवामा सिटी र यमआरआई बाहेक १५ प्रतिशत छुट, र अन्य सेवामा १० प्रतिशत छुट सुविधा समझदारी पत्रमा उल्लेख छ ।
उद्योग ब्यापार सङ्घले उद्योगी व्यवसायीहरूलाई लक्षित गरेर उपचार खर्चमा केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले मेडिकल कलेज सँग समझदारी गरेको हो । सङ्घले अन्य क्षत्रमा पनि समझदारी कायम गरी बढि भन्दा बढि क्षेत्रमा सहुलियत सेवा लिने अवस्था सिर्जना गर्ने र संस्थागत सम्बन्ध विस्तार गर्ने गरी समझदारी कार्यक्रम अगाडि बढाएको हो ।
संस्था स्थापना भए सँगै पहिलो अभियानको रुपमा अग्नि नियन्त्रण अभियान अन्तरगत सार्वजनिक प्रयोग गर्ने गरी अग्नि नियन्त्रक यन्त्र राख्ने अभियान निरन्तर चलाईरहेको छ । हाल सम्म ४० वटा सिलिन्डर सङ्घको अभियानमा प्राप्त भएको र सिलिन्डरहरूलाई बर्दघाट नगरपालिका भित्रका सबै बजार क्षेत्रहरूमा राख्ने काम निरन्तर चलिरहेको छ । सङ्घको दोश्रो अभियान अन्तरगत अन्तर संस्था समझदारी अभियान सुरु भैसकेको छ । जस अन्तरगत पहिलो संस्था स्वास्थ्य क्षेत्र सँग सम्बन्धित रहेर देवदह मेडिकल कलेज सँग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
प्रतिक्रिया