नवलपरासी: मृगौला पिडितहरुको डाइलासिस मेसिन संचान गर्नका लागि बर्दघाटमा महा अभियान सञ्चालन हुने भएको छ । बर्दघाट नगरपालिकाको वडा नम्बर १४ मा रहेको शहीद स्मृति सामुदायिक अस्पतालमा धुलीखेल अस्पतालबाट प्राप्त भएका डाइलासिस मेसिन सञ्चालन गर्नका लागि आवश्यक आर्थिक जुटाउन महा अभियान सञ्चालन गर्न लागिएको हो ।
विहीबार अस्पतालमा पत्रकार सम्मेलन आयोजना गरी अभियानको बारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकामा धेरै मृगौला रोगका बिरामीहरूको उपचार गर्नुपर्ने भएपछि डाइलासिस सेन्टर सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । उहाँले सामुदायिक अस्पतालमा सोझै बजेट लगाउन कानुनी रुपमा बन्देज गरेको अवस्थामा नगरपालिकाबाट कार्यदल निर्माण गरेको र कार्यदलको नेतृत्व आफैले गरेको बताउनुभयो ।
उपचारका लागि चाहिने आर्थिक जोहो गर्नका लागि एक घर १ हजार अभियान सञ्चालन गरी नगरपालिका र सामुदायिक अस्पताल बिच सहकार्य गरेर बढि भन्दा बढि बिरामीहरूलाई सेवा उपलब्ध गराउने श्रेष्ठको भनाई छ । आफूहरूले स्थानीय सरका सञ्चालन ऐनमै भएको व्यवस्थामा टेकेर अभियान सञ्चालन गरेको उहाँको दावी छ । नगर प्रमुख श्रेष्ठले अभियानमा जोडिन नगरवासीलाई आग्रह गर्नुभएको छ ।
धुलीखेल अस्पतालले डाइलासिस सेन्टर सञ्चालनका लागि शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रलाई ६ वटा मेसिन उपलब्ध गराएको थियो । सडक संरचना खराब भएका कारण मेसिन ल्याउँदा ल्याउँदै दुईवटा मेसिन बिग्रिएपछि तत्काल ४ वटा मेसिनबाट सेवा सुचारु गर्ने गरी तयारी अगाडि बढाइएको छ ।
अस्पताल विकास केन्द्रका अध्यक्ष डिल बहादुर थापाले नेपालमा मृगौला पीडितको सङ्ख्या बढिरहेको अवस्थामा धेरै बिरामीले डाइलासिस गर्न नपाएर मृत्यु हुनेगरेको अवस्थामा बर्दघाटमा हाल ५२ जना बिरामीले नियमित डाइलासिस सेवा लिइरहेको बताउनुभयो । छिमेकी पालिका प्रतापपुर, सुस्ता र सरावलमा गरी २ सय बढि विराम रहेको उहाँको भनाई रहेको थियो ।
अस्पतालमा डाइलासिस सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीलाई धेरै सहज हुने अध्यक्ष थापाको भनाई छ । एउटा मेसिनले एक दिनमा बढिमा ४ जना विरामको डाइलासिस गर्न सकिने भएकोले एक दिनमा १६ जना बिरामीले मात्र सेवा लिन सक्ने थापाले बताउनुभयो । अभियानले सार्थकता पाए असार मसान्त सम्ममा सेवा सुचारु गर्न सकिने अवस्था रहेको उहाँको भनाई छ ।
शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरेर महा अभियानको सुरुवात गरिने बताईएको छ ।
प्रतिक्रिया