+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाट खानेपानीमा नवगठित सुरक्षा योजनाका सदस्यलाई स्वागत 

न्यूज कुरा
२०८२ जेष्ठ १६, बिहीबार

नवलपरासीः बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नवगठित सुरक्षा योजनाका सदस्यहरूलाई स्वागत गरिएको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरि सुरक्षा योजनाको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउँदै स्वागत गरेको हो । 

स्वागत कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दीपक लम्सालले सुरक्षा योजनाका सबै सदस्यहरू संस्था प्रति जिम्मेवार भई उपभोक्ताको आधारभुत आवश्यकता र स्वास्थ्य सँग जोडिएको खानेपानी सुरक्षाको क्षेत्रमा गम्भिर भएर काम गर्नुपर्ने बताउनुभयो । लम्सालले खानेपानी सँग जोडिएका कुनै पनि विषयमा आफू जानकार हुनुपर्ने र कसैले जिज्ञासा राखे सोही अनुसार मेटाउनुपर्ने बताउँदै सुरक्षा योजना संस्थाको अभिन्न पाटोको रुपमा रहेको बताउनुभयो । 

सुरक्षा योजना संयोजक तथा संस्थाका उपाध्यक्ष कमल थापाले सुरक्षा योजनाको मर्म अनुसार सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताउनुभयो । खानेपानीको श्रोत देखी उपभोक्ताको मुख सम्म शुद्धता कायम गरेर पानीको उपभोग गराउने कुरा चुनौतिपूर्ण भएको बताउँदै सुरक्षा योजनाले यसै सँग सम्बन्धित योजना बनाएर काम गर्दै आइरहेको भनाई व्यक्त गर्नुभयो । 

लेखा संयोजक नारायण भण्डारीले खानेपानी सुरक्षा योजना संस्थाको मेरुदण्ड रहेको बताउँदै नवगठित सुरक्षा योजनाका सदस्यहरूलाई संवेदनशिल भएर काम गर्न आग्रह गर्नुभयो । सुरक्षा योजनाले गरेका प्रभावकारी कामकै कारण संस्थाले राष्ट्रिय स्तरमै फरक पहिचान बनाउँदै उत्कृष्ट संस्थाको परिचय बनाउन सफल भएको भण्डारीको भनाई छ । 

व्यवस्थापक विष्णु भुसालले संस्थाको स्थापना काल देखी हाल सम्मको अवस्थाको बारेमा जानकारी गराउनुभयो । उहाँले संस्थाले हासिल गरेको उचाइ टिकाइराख्नु सबैको दायित्व रहेको बताउँदै सोही अनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो ।

सुरक्षा योजनाका सदस्यहरूको तर्फबाट प्रतिनिधित्व गर्दै राजकुमार चौधरीले आफुसंग पहिला पनि सुरक्षा योजना बसेर काम गरेको अनुभव रहेको बताउँदै संस्थाको गरिमा बचाई राख्ने गरी सिङ्गो टिमले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

स्वागत कार्यक्रम सँगै गणतन्त्र दिवसको अवसर पारेर खानेपानी संस्थाको कार्यालय परिसरमा राष्ट्रिय झण्डा समेत राखिएको छ । आजदेखि नियमित रुपमा कार्यालय समयमा राष्ट्रिय झण्डा फहराउने गरी अध्यक्ष लम्सालले झन्डोत्तोलन गर्नुभएको हो । कार्यक्रमको सञ्चालन सचिव शोभाकान्त कोइरालाले गर्नुभएको थियो । 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ