+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाट खानेपानीको शून्य फोहर अभियान शुरु

विष्णु खनाल
२०८२ भाद्र १८, बुधबार

नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शून्य फोहोर अभियानको शुभारम्भ गरेको छ । अभियानको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले समुद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले देशभरिनै समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन बर्दघाट नगरपालिकामा नगर प्रमुख १२ अभियान अन्तरगत रहेर फोहोर व्यवस्थापनका लागि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको बताउनुभयो । बर्दघाटको सबै फोहोर वर्गीकरण सहित व्यवस्थापन गरेर फोहोरलाई मोहोरमा रूपान्तरण गर्ने बताउँदै श्रेष्ठले बर्दघाट नगरपालिका भित्र रहेका सबै खानेपानी संस्था र टोलविकास संस्थाहरूले शून्य फोहोर अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिनुभएको थियो । अभियानको अग्रणी संस्थाको गरेकोमा बर्दघाट खानेपानीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

पूर्व नगर प्रमुख एवं खानेपानी संस्थाका पूर्व अध्यक्ष धिरज शर्माले संस्थाले सुरु गरेको अभियान शून्य फोहोर अभियान भन्न जति सजिलो भए पनि कार्यान्वयन गर्न जटिल रहेको धारणा राख्नुभएको थियो । उहाँले अभियानलाई सफल बनाउन सबैको हातेमालो हुनु आवश्यक रहेको औँल्याउँदै फोहोरको श्रोत घटाउने, पुन प्रयोग र पुन प्रशोधन गर्ने अवधारणा अनुसार नै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष एवं संस्थाका सल्लाहकार वेधबिना तिवारीले खानेपानी संस्थाले अहिले सम्म खानेपानीको क्षेत्रमा काम गर्दै आएकोमा फोहोरको क्षेत्रमा पनि अभियान सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आफूले पहिले देखिनै संस्थाको नाम अनुसार खाने पानी तथा सरसफाइ भनेकोले सोही अनुसार फोहोर व्यवस्थापनको क्षेत्रमा पनि काम हुनुपर्ने बताउँदै आएको स्मरण गराउँदै अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अर्का सल्लाहकार रविन्द्र विक्रम हमालले सबैले हातेमालो गरे कुनैपनि काम असम्भव नरहेको बताउनुभएको थियो । समुद्घाटन कार्यक्रम लगत्तै बर्दघाट खानेपानी परिसरबाट निस्किएको सचेतना ¥याली बर्दघाट नगर परिक्रमा गरेको थियो । ¥यालिमा सडक आसपासमा रहेका फोहोर उठाउने र शून्य फोहोर अभियानका बारेमा जानकारी गराउँदै उपभोक्ताहरूलाई अभियानमा जोडिन आग्रह गरिएको थियो ।

कार्यक्रमको संचालन सचिव सोभाकान्त कोईरालाले गर्नुभएको थियो भने उपाध्यक्ष कमल थापाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा शून्य फोहोर अभियानमा प्रतिबद्धता ब्यक्त गर्दै हस्ताक्षर समेत गराईएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु खनाल

ट्रेन्डिङ