+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटको पहाडि भेगमा सडकको दुरावस्था, बालबालिकालाई स्कुल पुग्नै सास्ती

नारायण भण्डारी
२०८२ कार्तिक १, शनिबार

नवलपरासी: बर्दघाट नगरपालिकाको पहाडि भेग केयोरे भञ्ज्याङ, तिल्केनी, दमार, भोर्लेनी लगायतका क्षेत्रबाट बालबालिका झण्डै एक देखी डेढ घण्टाको पैदल यात्रा गर्दै हरेक दिन विद्यालय पुग्ने गर्छन् । बर्षाको पानीले विगारेको सडक समयमै मर्मत नहुँदा स–साना बालबालिका देखी त्यहाँका स्थानियले समेत कष्ट भोग्दै आउनुपरेको छ ।
सडक भंगालोमा परिणत भएको छ । भौगोलिक अवस्थाका कारण हुने असहजता र अफ्ठेरो त्यहाँका स्थानियका लागि सामान्य दैनिकी जस्तै छ । पूर्व पश्चिम राजमार्गको दाउन्नेको बैकल्पिक सडकको रुपमा चर्चा गरिदै आएको भुताहा संसारकोट दुम्कीबास सडक समयमै मर्मत नहुँदा पहाडिभेगका नागरिकले खेप्नु सास्ती खेप्नुपरेको छ ।
बर्दघाट नगरपालिकाको वडा नम्बर २ मा पर्ने सो भेगका नागरिकलाई आफ्नै वडा कार्यालय पुग्नका लागि पनि घण्टौ जंगलको जोखिमपूर्ण यात्रा गर्नपर्ने बाध्यता अझै हट्न सकेको छैन ।
संंसारकोटमा रहेको मौलादेवी प्राथमिक विद्यालयका शिक्षक कर्म सिँ दर्लामी आफुहरु नगरपालिका भित्र छौँ भन्ने त लाग्ने तर आफुहरुले नगरपालिकाको अनुभुति गर्न नसकेको बताउँछन् । सडकको दुराबस्थाका कारण बालबालिकालाई विद्यालय पुग्न निकै गाह्रो हुने गरेको उनी बताउँछन् ।
शिक्षिका धनिसरा दर्लामीले मुख्य समस्या भनेको बाटोनै रहेको बताउँछिन् । बर्खाको समयमा बाटो विग्रिदा निकै समस्या हुने गरेको उनको भनाई छ । समयमै बाटो मर्मत गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ ।
बर्दघाट नगरपालिका बालमैत्री उन्मुख नगरपालिका हो । नगरलाई बालमैत्री बनाउनका लागि विभिन्न कार्यक्रम संचालन भैरहेका छन् । तिनवटा वडा बालमैत्री घोषणा भैसकेका छन् । तर यहाँका बालबालिकाले त्यसको अनुभुति सम्म गर्न पाएका छैनन् ।
बैकल्पिक सडकको रुपमा प्रयोग गर्दै कतिपय मोटरसाईकलमा यात्रा गर्ने यात्रुर साना सवारीसाधनहरु संसारकोट सम्म पुगेपनि त्यहाँबाट अगाडि जान नसकेर फर्किने गरेका छन् । दैनिक रुपमा यात्रुले यो समस्या भोग्दै आएका छन् ।
पहाडि भेग बाट वडा सदस्यको रुपमा रहनुभएको दान बहादुर दर्लामी बाटोको कारण धेरै अफ्ठेरो भएको बताउँछन् । उनले यहाँको समस्यामा सरकारको खासै ध्यान नपुगेको बताउँछन् । दाउन्नेको बैकल्पिक सडकको रुपमा भएकोले केन्द्र सरकारले पनि ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।
नेताहरुले कुरा गर्दा राम्रो संग गर्नुपर्छ भन्ने तर काम नगर्ने गरेको उनको गुनासो छ । अनुगम गरेर सडक मर्मत गरिदिए सामान्य डेढ दुईलाख खर्च गरे मात्र पनि सडक सफा गरेर सुचारु गर्न सकिने उनी बताउँछन् । दर्लामीले आफै खटेर अहिले जेसीबी प्रयोग गरी सडक सफा गर्ने काम गरिरहेका छन् ।
गत बर्ष देखी पुष्प खेती सुरु गरेका बर्दघाट १० भुताहाका किसान खुमकान्त न्यौपानेले पहाडि भेग भोर्लेनीमा झण्डै १ हेक्टर जमिनमा पुष्प खेती गरेका छन् । अहिले फूल फूलिसकेकोले विक्रिका लागि बजार पठाउने समय भैसकेको छ । तर सडकमा सवारीसाधन चल्न सक्ने अवस्था नरहेकोले ढुवानीमा समस्या भएको बताए । अहिले मानिसहरुलाई बोकाएर संसारकोट सम्म फूल ल्याउने गरेको बताए । सडकको अवस्था राम्रो नभएकै कारण ढुवानीका लागि लाग्ने खर्च बढेकोले फूल उत्पादनको लागत बढेको उनको भनाई छ । उनले यसपटक १० हजार किलो फूल उत्पादन हुने बताए ।
बर्दघाट नगरपालिकाको पहाडि भेगमा आन्तरिक पर्यटनका लागि राम्रो सम्भावना भएको ठाउँको रुपमा पनि लिने गरिन्छ । यहाँको रमणिय परिवेसको आनन्द लिनका लागि विभिन्न ठाउँबाट मानिसहरु आउने गर्दछन् ।
छिमेकी देश भारतबाट पनि संसारकोट पुग्नेको संख्या बढ्दै छ । तर सडककै कारण अहिले आन्तरिक तथा बाह्य पर्यटकहरु आउन सक्ने अवस्था नरहेको संसारकोटमा होटल ब्यबसाय गर्दै आइरहेका प्रेम सोमइ बताउँछन् ।
ब्यबस्थीत सडक र पर्यटकको आकर्षण बढाउनका लागि आवश्यक संरचना विकास गर्न सके संसारकोट संगै यहाँको पहाडि भेगका स्थानियले स्थानिय स्तरमै राम्रो आर्थिक उपार्जन गर्न सक्ने वातावरण तयार हुने सोमइको बुझाई छ । तर स्थानिय, प्रदेश वा संघिय सरकार कसैको प्राथमिकतामा यो क्षेत्र नपरेको उनको गुनासो छ ।
संसारकोटबाट तराईको समथर भुभागको मनोरम दृश्य संगै हिमालको समेत मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । तराईको गर्मी छल्न र जाडोमा पारिलो घामको आनन्द लिन पूर्व पश्चिम राजमार्ग देखी छोटो दुरीको यात्रा गरी तराइ पहाड र हिमालको अनुभुति लिन सकिने ठाउँ संसारकोट यहाँका नेतृत्वको भाषणमा जति प्राथमिकतामा पर्ने गरेको छ ब्यबहारमा भने त्यहाँका स्थानियले अनुभुती गर्न पाएका छैनन् ।

भिडियोमा हेर्नुहोस ।

प्रतिक्रिया

लेखकको बारेमा

नारायण भण्डारी

ट्रेन्डिङ