+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शहीद स्मृतिमा डायलासिस सेवा सञ्चालन गर्न महाअभियान सुरु 

नारायण भण्डारी
२०८२ जेष्ठ ९, शुक्रबार

नवलपरासी: शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रमा डायलासिस सेवा सुरु गर्नका लागि आर्थिक सङ्कलनका लागि महाअभियान सुरु गरिएको छ । 

अभियानको लुम्बिनी प्रदेश सरकारका बन मन्त्री देवकरण कलवार सन्तुले एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री कलवारले चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पताल यस क्षेत्रकै स्वास्थ्यको धरोहर रहेको बताउनुभयो । अस्पतालको विकासका लागि प्रदेश सरकार सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै कलवारले मृगौला रोगबाट पीडित भएकाहरूको उपचारका लागि डायलासिस सेन्टर सञ्चालन हुनु यस क्षेत्रका लागि खुसीको भएको धारणा व्यक्त गर्नुभयो । 

डायलासिस सेन्टरलाई सफल रुपमा सञ्चालन गर्नका लागि सबैको हातेमालो हुनेगरि सुरु भएको महाअभियान सफलताको कामना गर्दै मन्त्री कलवारले आफू बनमन्त्री भएकोले अस्पताल परिसरमा वृक्षारोपण र पर्यावरण सँग सम्बन्धित कार्यक्रम माग गरेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमका अध्यक्ष भगौती यादवले नवलपरासी जिल्लामै पहिलोपटक बर्दघाट नगरपालिकाले डायलासिस सेन्टरको सुरुवात गरेकोमा सर्हानियक भएको बताउनुभयो । डायलासिसको लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रहेकोमा स्थानीय स्तरमा सेवा पाउँदा बिरामीहरूका लागि सहज हुने यादवको धारणा रहेको थियो । यसलाई सफल बाउन लुम्बिनी प्रदेश सरकारले विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 

अभियान सञ्चालनका लागि नगरपालिकाले गठन गरेको कार्यदलका संयोजक रहनुभएका बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले २ देखी ढाई करोड रकम सङ्कलन गर्ने उद्देश्यका साथ महाअभियानको थालनी गरिएको बताउनुभयो । श्रेष्ठले शहीद स्मृति सामुदायिक अस्पताल जनताको खुन पसिनाले बनेको र अहिले पनि अभियानमा सफल बनाउँदै मृगौला पीडितको उपचारमा सहजता ल्याउन सबै जनताले फेरी एकपटक सहयोग गर्नका लागि आग्रह गर्नुभयो ।

स्पतालमा डायलासिस सेन्टर सँगै ओटी सहितको बर्थिङ सेन्टर र ब्लड बैँक समेत सञ्चालन गर्ने सोच नगरपालिकाले बनाएको श्रेष्ठको भनाई छ । उहाँले सबै जनताले आर्थिक सहयोग गरेर मेरो अस्पताल भन्ने अपनत्व महसुस गराउनका लागि अभियान सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो । उहाँले सबैलाई अभियानमा जोडिन आव्हान गर्नुभयो । 

कार्यक्रममा मृगौला रोगबाट पीडित माधव तिवारी, बृहस्पति अधिकारी, पृथ्वीचन्द्र अस्पतालका मेसु डाक्टर नुरुल होदा लगायतले मन्तव्य व्यक्त गर्दै अभियान सफलताको कामना गर्नुभएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डिल बहादुर थापाले देशभरी अत्यन्तै जटिल समस्याको रुपमा रहेको मृगौला रोगको उपचारका लागि सुरुवातमा ६ वटा मेसिनबाट सेवा सुचारु गर्न लागिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा अन्य सेवा समेत सुचारु गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको निरन्तर सहयोग हुने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

नारायण भण्डारी

ट्रेन्डिङ