नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा कपडा बैँक स्थापना गरिएको छ । नयाँ पुराना कपडाहरू जम्मा गर्न सकिनेगरी बर्दघाट नगरपालिकाको कार्यालय परिसरमा बैङ्कको स्थापना गरिएको हो । बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैँक नेपालको आयोजना र बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको बैङ्कको मङ्गलबार शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले भएकाले प्रयोग नगरी खेर गैरहेको अवस्था र नपाउनेले कहाँ पाउँ भन्ने अवस्था रहेकोले कपडा बैँक सञ्चालनमा ल्याएको बताउनुभयो । जाडो समयमा गरिब तथा विपन्नहरू एक सरो कपडा पनि लाउन नपाएको अवस्थामा बर्दघाट नगरपालिकाले अभियान चलाएर कपडा वितरण गर्ने गरेको स्मरण गर्दै अव कपडा बैँक मार्फत काम गर्न सकिने श्रेष्ठको भनाई थियो । उहाँले नगरमा रहेको कपडा बैङ्कमा ल्याएर कपडा राखिदिन आग्रह गर्नुभयो ।
क्लोथ एण्ड फुड बैँक नेपालका अध्यक्ष कमल जेसिजले प्रयोग गरिएका पुराना कपडा सँगै इच्छा हुनेले नयाँ कपडाहरू पनि दान गर्न सकिने बताउनुभयो । हाल देशभरका १ सय ८४ वटा स्थानीय तहमा कपडा बैँक स्थापना गरिएको र देशैभर यो अभियान लिएर जाने गरी आफूहरू अगाडि बढेको जिसीको भनाई रहेको थियो । बैङ्कमा जम्मा भएका कपडालाई प्रशोधन गरी लगाउन योग्य बनाएर वितरण गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बर्दघाट जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी मोहन सापकोटाले कपडा बैँक स्थापना गर्नका लागि बर्दघाट जेसिजलाई विश्वास गरी जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्नुभयो । सापकोटाले बर्दघाट नगरपालिकाले चालेका हरेक अभियानमा सहकार्य भैरहेकोले नगरमा रहेको युवा तथा खेलकुद शाखा रहेकोले युवाको क्षेत्रमा नीति तथा योजना निर्माण गर्दा युवाहरूको पनि प्रतिनिधित्व गराउनुपर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा बर्दघाट जेसिजका संस्थापक अध्यक्ष एवं उद्योग ब्यापार सङ्घ बर्दघाटका अध्यक्ष राजु न्यौपाने, बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्साल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया