नवलपरासी : पूर्व पश्चिम राजमार्गमा लागेको सवारी जामका कारण यात्रुहरूलाई दिसापिसाबका लागि परेको अप्ठेरोलाई मध्यनजर गर्दै बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले संस्था परिसरमा रहेको शौचालय निशुल्क रुपमा प्रयोग गर्नका लागि आग्रह गरेको छ । संस्थाका अध्यक्ष दीपक लम्सालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै पानी र शौचालय निशुल्क रुपमा ब्यवस्था गरिएको जानकारी गराउनुभएको हो ।
विस्तारको क्रममा रहेको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबास विनयी खोलाले डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको छ । राजमार्गमा लागेको जामका कारण यात्रुहरुले सास्ती भोग्नुपरेको छ । यात्रुहरूले खाना, पानी लगायतका बस्तुको मूल्य वृद्धि भएको गुनासो गरेका छन् ।
बर्दघाट नगरपालिकाले यात्रुहरूलाई परेको अप्ठेरोलाई मध्यनजर गर्दै मूल्य वृद्धि नगर्न सचेत गराएको छ । नगरपालिकाले यात्रुहरूलाई शौचालय प्रयोगमा सहजता ल्याइदिन पनि आग्रह गरेको छ ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले यस अघि पनि राजमार्गमा लामो समय जाम पर्दा पानी र शौचालय निशुल्क उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया