१४ असोज, नवलपरासी: ग्रामीण बाल्मीकी बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औं वार्षिक साधारणसभा सोमबार ( आज ) देखी सुरु भएको छ । बर्दघाट ७ जिमिरेभारमा मुख्य कार्यालय रहेको सहकारीको नगर भित्र ६ वटा सेवाकेन्द्र सञ्चालनमा रहेका छन् ।
बर्दघाट ९ मा रहेको स्वर्णिम सेवाकेन्द्र बाट साधारणसभाको शुभारम्भ गरिएको हो । संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता र वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईँको प्रमुख आतिथ्यमामा एकाइगत साधारणसभाको शुभारम्भ गरिएको हो ।
साधारणसभाले सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मुरली कृष्ण खनालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक राधा ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन, ऋण उपसमितिका संयोजक कृष्णप्रसाद गौतमले प्रस्तुत गर्नुभएको प्रतिवेदन, महिला उपसमिति संयोजक बसन्ती कुमारी थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुमोदन गरेको छ ।
२०५१ सालमा स्थापना भएको सहकारीमा हाल ७ हजार ७९ जना महिला र ५ हजार ३ सय ३९ जना पुरुष र संस्थागत ९ गरी कुल १२ हजार ४ सय २७ जना शेयर सदस्य रहेका छन् । बाल सदस्यको सङ्ख्या २ हजार २ सय १८ जना रहेका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम पुरै जिल्ला कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पुँजी १० करोड ३४ लाख ३९ हजार ९ सय रहेको छ । सहकारीले ९८ करोड ७८ लाख २८ हजार ९ सय १३ रुपैयाँ २६ पैसा बचत सङ्कलन गरी ८५ करोड ५९ लाख २३ हजार ४ सय ८० रुपैयाँ ५० पैसा ऋण लगानी गरेको छ ।
सहकारीको जगेडा कोषमा ९ करोड ३७ लाख २९ हजार ३ सय ८७ रुपैयाँ २१ पैसा रहेको छ । संस्थागत पुँजी ९ करोड ४० लाख ४२ हजार ६ सय ५८ रुपैयाँ १३ पैसा रहेको छ ।
सहकारीले गत आर्थिक वर्षमा ३४ लाख २६ हजार २ सय ७८ रुपैयाँ ८१ पैसा खुद मुनाफा आर्जन गरेको छ ।
साधारणसभामा बोल्दै प्रमुख अतिथिका रुपमा रहनुभएका बर्दघाट वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाइँले सहकारीको रकम अनुत्पादक क्षेत्रमा लगानी हुँदा सङ्कट बढ्दै गएको बताउनुभएको थियो । उहाँले सबै सदस्यहरूले वित्तिय अनुशासन कायम राख्नुपर्ने र आर्थिक मन्दीका कारण मर्कामा परेका सदस्यहरूका लागि सहकारीले पनि विशेष योजना बनाएर ऋणको साँवा भुक्तानीका लागि सहज वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको थियो ।
साधारणभामा आफ्नो मन्तव्य राख्दै सहकारीका अध्यक्ष रविन्द्र विक्रम हमालले ३० वर्ष अगाडि ३० जना सदस्यहरूबाट मासिक २० रुपैयाँ बचत गरी सुरु भएको सहकारी अहिले अरबौँको कारोबार गर्ने नेपालको उत्कृष्ट सहकारीको रुपमा स्थापित भएको बताउनुभयो । संस्थाले आजको सफलता प्राप्त गर्नका लागि अनेकौँ आरोह अवरोह सामना गर्नुपरेको स्मरण गर्दै सहकारीका नीति र सिद्धान्तमा विचलित नभइ निरन्तर अगाडि बढिरहेकोले शेयर सदस्यहरूलाई ढुक्क भएर सहकारीलाई विश्वास गर्न अध्यक्ष हमालले आग्रह गर्नुभयो । पछिल्लो समय सहकारी तथा वित्तिय क्षेत्रबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने गलत मानसिकता विकास भएका कारणले संस्थाले नियमित असुली गर्नुपर्ने ऋण समयमा असुली गर्न नसक्दा लाभांश प्रभावित भएको उहाँको भनाई रहेको थियो ।
साधारणसभामा वडा नम्बर ९ का जनप्रतिनिधि बालिनद्र विक्रम शाही, पञ्चनगर महिला कल्याण सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष सुशीला पराजुली, सल्लाहकार बसन्त रेग्मी, सल्लाहकार एवं निवर्तमान अध्यक्ष देवी प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
सहकारीका संचालक समितिका सदस्य एवं स्वर्णिम सेवाकेन्द्रका संयोजक छविलाल तिमिल्सिनाको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन सह सचिव कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो ।
एकाइगत रुपमा संचालन हुने साधारणसभा असोज २१ गते सम्म चल्नेछ । मंगलबार दाउन्नेदेवी सेवाकेन्द्रको साधारणसभा हुनेछ ।
प्रतिक्रिया