गुल्मी: सत्यवती गाउँपालिकाले किसानका उतपादनलाई बजारीकण गर्नका लागि कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ । पालिकाले सोमबार वडा नम्बर १ अस्लेवाबाट किसानका उतपादन संकलन गर्न सुरु गरेको हो ।
शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले कृषकले उत्पादन गरेका बस्तुको सहज बजारीकरण गर्दै कृषिमा आत्मनिर्भर बनाउनका लागि पालिकाले संचालन गर्ने कृषि एम्बुलेन्सले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । पाण्डेले सत्यवती गाउँपालिका कृषिका लागि उर्वर रहेको बताउँदै किसानलाई उत्पादनमा जोडिन र बजारीकरणका लागि पालिकाले जिम्मा लिने भएकोले निश्चिन्त हुन आग्रह गर्नुभयो ।
सत्यवती गाउँपालिकाले यस बर्षलाई कृषि बजारीकरण बर्षको रुपमा घोषणा गरेर काम गरिरहेको छ । कृषि शाखा प्रमुख उपकार भण्डारीले किसानका उत्पादनको बजारीकरणका लागि बुटवलमा तरकारी बजारमा कृषि उपज बिक्रि केन्द्र संचालनमा ल्याएको र पालिका भित्र आन्तरिक विक्रिका लागि र अन्य पालिका संग समन्वय गरी बजारको खोजी गर्नका लागि निरन्तर काम भैरहेको बताउनुभयो । भण्डारीले पालिका स्तरमा किसानहरुकै सक्रियतामा गठन भएको थाप्ले सत्यवती कृषि बहुउद्देश्यीय सहकारी संस्था मार्फत किसानको उत्पादनको बजारीकरण हुने र त्यसबाट कृषिकले प्रत्यक्ष लाभ लिने गरी काम भएको जानकारी दिनुभयो । कृषि क्षेत्रमा धेरै चुनौती भए पनि ब्यबस्थीत योजना बनाएर किसानका उत्पादनको बजारीकरणको ग्यारेन्टी गरेर पालिकाले काम गर्न थालेपछि कृषकहरुमा उत्साह थपिएको भण्डारीको भनाई छ ।
सत्यवती गाउँपालिकाले सबै वडाका किसानका उतपादन संकलन गर्ने र सहकारी मार्फत बजारीकरण गरी आम उपभोक्तामाझ पु¥याउने काम गरिरहेको छ । पालिकामा तरकारी, दुध, फलफुल, अनाज सबैको ब्राण्डिङ गर्ने र विक्रि गर्ने काम भैरहेको छ । कृषिमा सम्भावना देखेपछि ब्यबसायीक रुपमा कृषि गर्ने किसानको संख्यामा पनि बृद्धि भैरहेको छ ।
प्राय श्रीमान बैदेशीक रोजगारमा जाने र महिलाहरुले घर चलाउनुपर्ने बाध्यता रहेकोमा पछिल्लो समय महिला दिदीबहिनीहरुले कृषि गरी राम्रो आम्दानी गरिरहेका छन् । पालिकाले कृषि एम्बुलेन्स मार्फत आफ्ना उत्पादन उठाउन थालेपछि किसानहरु पनि उत्साहित भएका छन् ।
प्रतिक्रिया