नवलपरासी: बर्दघाट बजार क्षेत्रमा आगलागीका घटनाहरू बढ्न थालेपछी उद्योग ब्यापार सङ्घ बर्दघाटले सार्वजनिक रुपमा निशुल्क प्रयोग गर्ने गरी अग्नि नियन्त्रक यन्त्र राख्ने अभियान सुरु गरेको छ । बुधबार बर्दघाट बजारबाट अभियानको सुरु गरिएको हो ।
बुधबार बर्दघाट बजारका ८ स्थानमा अग्नि नियन्त्रक यन्त्र राखिएको हो । आगलागीका कारण उद्योगी व्यापारी सँगै जोसुकैले ठुलो धनजनको क्षति बेहोर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको उद्योग ब्यापार सङ्घ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । उहाँले सार्वाजनिक रुपमा निशुल्क प्रयोग गर्न सकिने भएकोले आगलागीका घटना घटे तत्काल आफूलाई पायक पर्ने स्थानबाट अग्नि नियन्त्रक यन्त्र लगेर प्रयोग गर्न सकिने बताउनुभयो । यो अभियानको थालनी उद्योग ब्यापार सङ्घले सुरु गरे पनि सबैको साझा अभियान भएकोले यस अभियानमा जोडिन चाहने जुनसुकै सङ्घ संस्था, ब्यक्तिहरू सँग सहकार्य गर्न तयार रहेको भन्दै यसलाई सफल बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उहाँको भनाई छ । सङ्घमा आबद्ध उद्योगी व्यवसायीहरूले आ–आफुले व्यक्तिगत रुपमा रकम उठाएर अभियानको थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।
आगजनी जन्य घटनाबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गर्दै अभियान सञ्चालन गरेकोमा उद्योगी व्यवसायी र आम सर्वसाधारणले खुसी व्यक्त गरेका छन् । आगामी दिनमा पनि उद्योगी व्यवसायीका समस्या पहिचान गर्दै बजार चलायमान गराउने क्षेत्रमा आवश्यक कार्यक्रम गर्नका लागि व्यवसायीहरूले आग्रह गरेका छन् ।
उद्योगी व्यवसायीहरूको हितका लागि खुलेको संस्था भएकोले संस्थागत स्वार्थ भन्दा माथि उठेर उद्योगी व्यवसायीका पक्षमा काम गर्नुपर्ने उनीहरूको धारणा छ ।
सङ्घको अभियानलाई समर्थन गर्दै अभियान चलाएकोमा अर्जुन मिष्ठान्न भण्डार बर्दघाटका सञ्चालक अर्जुन पाण्डेले धन्यवाद व्यक्त गर्नुभयो । सङ्घका कार्यसमिति सदस्य सन्तोष गौतमले आफूले प्रयोग गर्दै आएको अग्नि नियन्त्रक यन्त्र सङ्घ मातहत नरहनेगरी सार्वजनिक रुपमा निशुल्क प्रयोग गर्न मिल्ने गरी उपलब्ध गराउनुभयो । दाउन्ने दूध डेरीका सञ्चालक उमेश सापकोटाले पनि सङ्घको अभियानमा जोडिदै आफूले प्रयोग गरेको यन्त्रलाई सबैले प्रयोग गर्न सकिने गरी सङ्घलाई उपलब्ध गराउनुभयो ।
व्यवसायी ओमप्रकाश डुम्रेले स्थापनका कालको छोटो अवधीमै सङ्घले रचनात्मक र अत्यावश्यक कम सुरु गरेकोमा आफुको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यवसायी लक्ष्मण भट्टराईले अभियानलाई थप ब्यापक बनाएर अगाडि लैजानुपर्ने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट सहयोग रहने बताउनुभयो । अर्का व्यवसायी बासुदेव अधिकारीले आगलागीका कारण जुनसुकै वेला क्षति हुनसक्ने खतरा रहेकोमा सङ्घले चालेको अभियानले धेरै ठुलो सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ नवलपरासीका बरिष्ठ उपाध्यक्ष भरत कंडेलले उद्योग ब्यापार सङ्घ बर्दघाटको अभियानमा आफुहरु पनि हातेमालो गर्ने बताउनुभयो ।
पहिलो चरणमा यन्त्रहरु राख्ने काम गर्ने र लगत्तै त्यसको प्रयोगका बारेमा बृहद कार्यक्रम आयोजना गरी डेमोस्ट्रेसन गरिने सङ्घका बरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले बताउनुभयो । न्यौपानेले यस अभियानमा सबैले हातेमालो गर्दै ब्यापक रुपमा अगाडि बढ्नेमा आफु आसावादी भएको बताउनुभयो । महासचिव नारायण भण्डारीले धेरै औपचारिक कार्यक्रम भन्दा छिटो छरितो ढंगबाट उद्योगी, व्यवसायी र उपभोक्तामैत्री कामहरु प्राथमिकताका साथ गरिने बताउनुभयो ।
अभियान निरन्तर सञ्चालन हुने र बर्दघाट बजार मात्र नभई चिसापानी, पञ्चनग, भटौलिया, जिमिरेभार, कुकुरमारा लगायतका क्षेत्रमा पनि अग्नि नियन्त्रक यन्त्रहरु राखिने सङ्घले जनाएको छ । अभियानमा जोडिन सङ्घले आव्हान समेत गरेको छ ।
प्रतिक्रिया