+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटको वडा नम्बर ८ बालमैत्री वडा घोषणा

नारायण भण्डारी
२०८२ जेष्ठ ११, आईतवार

नवलपरासीः बर्दघाट नगरपालिकाको वडा नम्बर ८ बालमैत्री वडा घोषणा भएको छ । आइतबार एक भव्य समारोहका बिच नगर प्रमुख शम्भुलाल श्रेष्ठले वडालाई बालमैत्री वडा भएको घोषणा गर्नुभएको हो ।

यो सँगै बर्दघाट नगरपालिकामा बालमैत्री घोषणा भएका वडाको सङ्ख्या ३ पुगेको छ । यस अघि वडा नम्बर ९ र वडा नम्बर ५ बालमैत्री घोषणा भैसकेका छन् ।

घोषणा समारोहमा बोल्दै नगर प्रमुख श्रेष्ठले बालबालिका विरुद्ध हुने कुनैपनि विभेद, हिंसा, यातना र श्रम शोषणको अन्त्य  गरी सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबै नगरवासीहरू एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । बालबालीकाहरू भविष्यका कर्णधार भएको हुँदा वर्तमानमा उनीहरूमथि गरेको लगानी खेर नजाने श्रेष्ठको धारणा रहेको थियो । बालमैत्री घोषणाका क्रममा जति चुनौतीहरू आउँछन् त्यो भन्दा बढि चुनौती यसको सफल कार्यान्वयनका क्रममा सामना गर्नुपर्ने बताउँदै सूचकहरू खस्किन नदिन सबैको ध्यान जानु आवश्यक रहेको उहाँको भनाई रहेको थियो । बर्दघाट नगरपालिकामा १६ वटा वडा रहेकोमा आगामी ३ वर्षमा बाँकी सबै वडा बालमैत्री घोषणा गरी नगरलाई बालमैत्री नगर बनाउने गरी बालमैत्री स्थानीय शासनका कार्यक्रमहरू अगाडि बढाइरहेको श्रेष्ठको भनाई रहेको छ । उहाँले बाल सहभागिताको विषयलाई गम्भीरताका साथ लिएको र बालबालिकाको सहभागितालाई बढाउँदै लैजाने बताउनुभयो ।

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बालमैत्री घोषणा गर्नुमात्र ठुलो कुरा नभई स्वयम् बालबालिकाहरूले महसुस गर्न सकेमा मात्र घोषणाले सार्थकता पाउने बताउनुभयो । बालबालिकाहरू सुरक्षित भएको महसुस गराउन सके मात्र साँचो अर्थमा बालमैत्री घोषणा भएको मानिने उहाँको तर्क रहेको थियो । स्थानीय तहले लिएको बालमैत्री नगर बनाउने लक्ष पुरा गर्नका लागि बालअधिकार सुनिश्चित गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाई रहेको छ ।

घोषणा समारोहमा वडाको प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष कविराज आचार्यले वडामा ४ वटा टोलमा ३ सय ६० घरपरिवारमा १ हजार ७ सय ३७ जनसङ्ख्या रहेको उल्ले गर्नुभयो । वडाको भौगोलिक संरचना सानो भए पनि मिलेको वडा भएकोले सबैका साथ र सहयोगले वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएको आचार्यको भनाई छ । वडामा ४ सय २४ जना १८ वर्ष मुनीका बालबालिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका– २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि –२०७९ अनुसारका ५१ वटा सूचकहरू पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सूचक, संरक्षणको क्षेत्रमा १० वटा सूचक, बाल विकासमा ६ वटा सूचक, सहभागीमा ६ र संस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सूचक पूरा गरेको वडा अध्यक्ष आचार्यले बताउनु भयो । बाल संरक्षण र बाल विकासमा केही चुनौती रहेको उल्लेख गर्दै आचार्यले नगर र वडाले निरन्तर अनुगमन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले पुरा गरेका सूचकहरू अर्को वर्ष कमजोर भए अहिले भव्य समारोहका साथ घोषणा गरेको कुनै अर्थ नहुने समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका बालमैत्री फोकल पर्शन माधव ज्ञवालीले बालबालिकामैत्री दिगो विकासका लागि ५ बर्षको रणनितिक योजना बनाएर अगाडि बढिएको उल्लेख गर्नुभयो । उहाँले हाल सम्म नगरका ३ वटा वडा बालमैत्री वडा घोषणा भएकोमा यसै आर्थिकबर्ष भित्र वडा नम्बर १, ६, ७ र १४ लाई बालमैत्री वडा घोषणा गरिने बताउनुभयो ।

वडालाई बालमैत्री बनाउका लागि सहजकर्ताको भुमिका निर्वाह गर्नुभएकी सहजकर्ता शर्मिला पौडेलले हाम्रो चहाना अनुसार बालबालिकालाई अगाडि बढाउने नभई बालबालिकाको चाहना अनुरुप अभिभावकले ब्यबहार गर्नुपर्ने बताउनुभयो । उहाँले नपुगी विबाह गर्ने, लागु औषध र सुर्ती जन्य पदार्थको बिक्री बितरणमा केहि चुनौती रहेको उल्लेख गर्दै यसको न्यूनीकरणमा लाग्नु पर्ने धारण व्यक्त गर्नुभयो । बालबालिकालाई गरिने र भनिने ब्यवहार फरक हुन नहुनेमा उहाँको जोड रहेको थियो । पौडेलले अहिले बालबालिकामा गरेको लगानीको सहि परिणाम २० बर्षपछि देखिने बताउँदै त्यतिखेर कुनैपनि बालबालिका यहाँ सम्भावना नदेखेर विदेशिने अबस्था सिर्जना नहुने बताउनुभयो ।

समारोहमा बालबालिकाहरूले मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेको थिए । बालमैत्री वडा घोषणाका लागि विभिन्न क्षेत्रबाट योगदान पु¥याएका ब्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।

समरोहमा वडा नम्बर ८ का बालबालिकाको स्थिति पत्र विमोचन गरिएको थियो । समारोह सुरु हुनु पुर्व बालबालिका र अभिभावको बृहद ¥याली निकालिएको थियो । ¥यालीले वडा नम्बर ८ का विभिन्न ठाउँहरुको परिकर्मा गरी सभा स्थलमा आएर भव्य समारोहमा परिणत भएको थियो । बालबलिकाले विभिन्न चेतनामुलक प्लेकार्डहरु प्रदर्शन गरेका थिए भने टोलविका संस्था र महिला समुहरु ब्यानर सहित सहभागी बनेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नारायण भण्डारी

ट्रेन्डिङ